नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 -
असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन टिठलाग्दो हुँदै गइरहेको थियो। टिम इभेन्ट्समा नेपाली पुरुष क्रिकेट क्वाटरफाइनलमा अफगानिस्तानसँग पराजित भएपछि मुलुक १७ औं एसियाली खेलकुदमा पदकविहीन हुने सम्भावना बलियो बनेको थियो।

अफगानिस्तानलाई पराजित गर्न सकेको भए सेमिफाइनलमा हुने हङकङसँगको भिडन्तमा सफलता हात पार्दै टिम इभेन्ट्समा एसियाडमा पदक ल्याउने सम्भावना थियो। तर ८ रनले पराजित भएपछि पदक जित्ने नेपाली टिमको सपना अधुरै रहन पुग्यो। यस्तोमा इन्चोन एसियाडमा सहभागिताको चरणबाटै विवादमा परेको कराँतेले महिला एकल कातामा कांस्य पदक जितेर मुलुकको नाक जोगाइदियो।

नेपालकी १८ वषर्ीया विमला तामाङले एसियाली खेलकुदमा कांस्य पदक दिलाएर मुलुकलाई पदकविहीन हुनबाट जोगाइन्। नेपालमा महाअष्टमी र कालरात्रि मनाइरहेका बेला राष्ट्रलाई बेइज्जत हुने खड्गो पार गराएकी विमलाले भनिन्, ‘मेरो पदक सबै नेपालीलाई दसैंको उपहार भयो। सिंगो मुलुकप्रति समर्पित गर्न चाहन्छु यो पदक।’

त्यसो भने पनि गेयाङ जिम्नेजियममा उपस्थित सबै नेपाली खेलाडीमाझ उनले आपनो खुसी साट्न पाइनन्। कारण अस्तित्वमा रहेका दुई कराँते महासंघबीच इन्चोन एसियाडसम्म आइपुग्दा पानी बाराबारको स्थिति सिर्जना भइसकेको थियो। त्यसैले हलमा रहेका ८ जना कराँतेका खेलाडीसहित अन्य खेल अधिकारीले जितको उल्लासमा खुसी प्रकट गर्ने औपचारिकता मात्रै निर्वाह गरे।

हुन पनि प्रतियोगिता सुरु हुनुअघिसम्म विमलाको नाम कहींकतै थिएन, तर उनी अहिले नेपाली खेलकुदकी नायक बनिसकेकी छन्। धादिङ सेम्जुङ ४ की विमलाको नाम एसियाली खेलकुदमा समावेश हुँदा अर्की खेलाडी चञ्चला दनुवारको नाम काटियो। त्यसैले एसियाली खेलकुदमा पदक जित्दा पनि उनको मनमा पूर्ण सन्तोष छैन।

‘मैले भाग लिएर मुलुकका लागि पदक जित्न सकें, त्यसमा खुसी छु। तर अन्य प्राविधिक कारणले मैले खेल्दा अर्काले सहभागिता जनाउन नसक्ने अवस्था आयो। यसमा दुःख लागेको छ,’ उनले भनिन्, ‘मेरो मात्रै कारणले अरूले खेल्न नपाएको हैन। अब यसमा मैले गर्न सक्ने कुरा पनि भएन।’ धादिङबाट बसाइँ सरेर बालाजु आउनु नै उनको जीवनको महत्त्वपूर्ण घटना बन्न पुग्यो।

उनका बाआमा बालाजु आइनपुगेको भए विमलाले बालाजु कराँते डोजो र गुरु ध्रुवविक्रम मल्लको सानिध्य पाउने थिइनन्। ७ वर्षको उमेरमै कराँते खेल्न पठाउने बा-आमा र गुरु ध्रुवविक्रमले नै उनमा रहेको प्रतिभा निखारेका हुन्। त्यसैले १५ वर्षको कलिलो उमेरमै यिनले धनगढीमा २०६८ सालमा सम्पन्न छैटौं राष्ट्रिय खेलकुदमा आपनो विधामा स्वर्ण जितेर सबैलाई अचम्ममा पारिन्।

वनको काँडालाई तिखार्न पर्दैन भनेझैं यिनले आपनो प्रतिभा प्रस्फुटन गर्ने थलो बन्यो इन्चोन एसियाड। होचो कदकी गहँुगोरी विमला देखेर अन्य मुलुकका खेलाडीहरूमा उनले पदक जित्नेमा एक रत्ति पनि विश्वास थिएन रे। इन्चोनमा उनका गुरु बनेर आएका हीरासिंह डंगोल भन्छन्, ‘एक त नेपाली त्यसमाथि पनि उनको शारीरिक बनोट देखेर विपक्षीहरूले पनि विश्वास गरेका थिएनन्। तर उनले आफूलाई प्रमाणित गरेर देखाइन्।’ उनले जुनियर तहदेखि नै प्रतियोगितामा पदक जित्न थालेकी हुन्। तर जहिले पनि उनले जित्ने पदक स्वर्ण नै हुन्थ्यो। १२ वर्ष र १४ वर्ष उमेर समूहको एकल कातामा पनि उनलाई प्रतिस्पर्धा गर्न सक्ने खेलाडी नेपालमा अरू भेटिएन पनि। दुई वर्ष अगाडि मलेसियामा भएको कोई ओपन कराँतेको एकल कातामा पनि उनले स्वर्ण पदक जितेकी थिइन्।

धनगढीमा भएको छैटौं राष्ट्रिय प्रतियोगितामा पनि उनले स्वर्ण जितेर उनले आफूलाई देशको नम्बर एक काता खेलाडीका रूपमा स्थापित गरिसकेकी थिइन्। त्यसैले इन्चोन आउने टोली छान्नका लागि भएको खेलमा उनी पर्नु स्वाभाविक थियो। किनभने उनी नेपालका उत्कृष्ट काता खेलाडी हुन् भन्नेमा कुनै शंका छैन। तर कराँते विवादले उनी राष्ट्रिय छनोटमा खेल्न पाइनन्।

त्यतिमात्र होइन, कराँतेको झगडाका कारण बालाजु कराँते डो एकेडेमीलाई प्रायः प्रतियोगितामा सहभागी नै बन्न नदिँदा उनी थुप्रै प्रतियोगितामा भाग लिनबाट वञ्चित हुन्थिन्। उनको प्रतिभा त्यसै लुकेर बस्नेवाला कहाँ थियो र? प्रतीक्षा थियो त मात्र एउटा मौकाको। जुन उनले इन्चोनमा भेट्टाइन्। ‘मलाई एसियाडमा सहभागिता जनाउन पाएदेखि नै एउटा पदक जित्छु भन्ने लागेको थियो,’ विमलाले भनिन्।

उनले थपिन्, ‘किनभने मलाई आफूलाई प्रमाणित गर्नु पनि थियो। राष्ट्रको नाममा पदक दिलाउन पाएकोमा कति खुसी छु म शब्दले बयान गर्न सक्दिनँ।’ तर बालाजु कराँते डो प्रतिष्ठानका प्रमुखसमेत रहेका ध्रुवविक्रम मल्लले विमलालाई अनुभवको कमी हुन कहिल्यै दिएन। बरु लगातार रूपमा यी खेलाडीले अन्तर्राष्ट्रियस्तरमा भिड्ने मौका पाइरहिन्।

एसियाडमा सफलताको एउटा खुड्किलो उक्लिएकी विमलाको अबको नजर ओलम्पिक र विश्व च्याम्पियनसिपमा छ। ‘देशका लागि सबै ठाउँमा प्रतिस्पर्धा गर्ने धोको छ,’ उनले भनिन्, ‘राष्ट्रका नाममा पदक जित्नुजस्तो खुसी अर्को छैन।’ नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अस्तित्वमा रहेका नेपाल कराँते महासंघहरू छनोटदेखि सहभागिताको लामो विवादमा अल्भिरहँदा थुप्रै कराँते खेलाडी त्यसको मारमा परे।

अहिले मार खेप्ने पालो गंगा अधिकारी र चञ्चलाको पर्‍यो। त्यही विवादले एसियाली पदकधारी विमलालाई नेपालमा भएको छनोट प्रतियोगितामा भाग लिन वञ्चित बनाइयो। राष्ट्रिय खेलकुद परिषद्को राष्ट्रिय टिम तयारीको लामो योजनामा उनको नाम अटाउन सकेन। पदक जितेपछि प्रशिक्षक हीरासिंह डंगोलले भने, ‘हामी राज्यको एकसुको लगानीबिना इन्चोन आएका हौं। प्रतिभाशाली खेलाडी सधैं मौकाको खोजीमा हुन्छ। यस्तोमा राष्ट्रले उसको प्रतिभा चिन्न सक्नुपर्छ।’

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले दुवै कराँते महासंघका पदाधिकारीको सहमतिमा खेलाडीको अन्तिम नाम छनोट गरिएको बताउँछन्। तर, प्रशिक्षणका लागि जापान पुगेका ८ मध्ये २ खेलाडीले इन्चोन एथलेट भिलेजमा आएपछि मात्रै आपनो हैसियत खेलाडीको नरहेको पत्तो पाए। खेल्नबाट वञ्चित गंगा भन्छिन्, ‘जापान जाने बेलामा नै मेरो कार्ड नदिएपछि शंका लागेको थियो। इन्चोनमा आएपछि मेरो खेलाडीको पास कैंचीले काटेर अफिसियलको पास थमाइयो।’

श्रोत: कान्तिपुर

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »