गुगल प्रमुख कार्यकारी – ४३ वर्षीय भारतीय नागरिक सुन्दर पिचाइ

Aug 22, 2015 , गस्ट १० सोमबार प्रविधिको दुनियाँमा ठूलै तरंग छायो। प्रविधिमा चासो राख्नेहरूका लागि यो तरंग ठूलै भूकम्पभन्दा कम थिएन। नेपालमा कुनै बेला भूकम्प जान सक्ने आँकलन विज्ञहरूले गरेझैं यसमा पनि विज्ञहरूले आँकलन नगरेका होइनन्।

विश्वकै ठूलो टेक कम्पनी गुगलले पुनःसंरचना गर्न लागेको बताउँदै ४३ वर्षीय भारतीय नागरिक सुन्दर पिचाइ गुगलतर्फको प्रमुख कार्यकारी अधिकृत घोषित भएपछि प्रविधिको विश्व दुनियाँ तरंगित बनेको थियो।

गुगलले यसै साता अनुसन्धान तथा निर्माण डिभिजनलाई व्यापारसँग छुटाएर अर्को मुख्य कम्पनी खोल्ने निर्णय अघि सार्दै पिचाइलाई प्रमुख कार्यकारी भई सर्च, वेभ एडभर्टाइजिङ, जिमेल, युट्युब, क्रोम र एन्ड्रोइड हेर्ने जिम्मा दिएको हो। गुगलबाट छुटिएर ‘अल्फाबेट’ को नाममा अर्को मुख्य कम्पनी हुन्छ। र, निवर्तमान गुगलका प्रमुख कार्यकारी अल्फाबेटको कार्यकारी अध्यक्ष हुनेछन्।

पिचाइको नियुक्ति अप्रत्यासित नभए पनि गुगलको पुनःसंचनासँगै यो घोषणा हुनुले भने धेरैलाई आश्चर्यमा पारिदिएको छ। भारतको तामिलनाडु राज्यको सामान्य परिवारमा हुर्किएका पिचाइले छोटो समयमा नै ठूलो प्रगति गरेको विश्लेषण उनलाई नजिकबाट नियाल्नेहरूको छ।

इलेक्ट्रिकल इन्जिनियर बाबुका छोरा पिचाइ मृदुभाषी व्यक्तिका रूपमा चिनिन्छन्। उनी गुगलमा सबैका प्रिय मानिन्छन्। उनी स्कुलका दिनदेखि नै निकै मेहनती छात्रका रूपमा चिनिन्थे। सानै छँदादेखि नै उचाइमा पुग्नुपर्छ भन्ने जुनुन रहेका उनलाई बाल्यकालदेखि चिन्नेहरू दाबी गर्छन्। दुई कोठाको अपार्टमेन्टमा हुर्किएका पिचाइको घरमा टेलिभिजनसम्म थिएन। जेनेरल इलेक्ट्रिक कम्पनीमा कार्यरत बाबु रेेघुनाथ पेचाइकै कारण उनमा टेक्नोलोजीप्रति लगाव बढेको हो। ‘उसलाई सानो उमेरमा पनि मेरो काम र मैले काममा भोग्नुपर्ने समस्याप्रति रुचि थियो,’ उनी भन्छन् ‘उसमा भएको अर्को अद्भुत क्षमता भनेको ऊ कुनै पनि नम्बर तुरुन्तै सम्झन सक्छ।’ बाबुका अनुसार पिचाइले एकपटक डायल गरेको फोन नम्बर कहिल्यै बिर्सिंदैनन्। उनको यो क्षमता घरमा फोन जडान भएपछि पत्ता लागेको थियो। यो क्षमता उनलाई अहिले निकै काम लागेको छ। किनकि कुनै पनि डाटा हेर्नेबित्तिकै कण्ठस्त भइहाल्छ। जसले गर्दा उनीभन्दा तल्लो पोस्टमा काम गर्नेलाई कहिलेकाहीँ निकै अफ्ठ्यारो पनि पर्ने गरेको छ।

ब्लुमबर्ग म्यागजिनका अनुसार स्कुलमा पढ्दा उनी क्रिकेट टिमको क्याप्टेन थिए। उनको मावलीतर्फकी हजुरआमा भन्छिन्, ‘राजेश (घरमा बोलाउने नाम) क्रिकेट खेल्न खुब मन पराउँथ्यो। तर, पढाइमा पनि उत्तिकै ध्यान दिन्थ्यो।’ पिचाइका बाबुआमा दुवै अमेरिकामै रहेकाले यति बेला चेन्नईस्थित उनको मामाघरमा मिडियाको ताँती लागेको छ। जसले गर्दा पनि उनीहरू एक–दुई वाक्य भन्दा बढी कसैसँग पनि बोल्दैनन्।

आइआइटी खरागपुरबाट इन्जिनियरिङको डिग्री हासिल गरेपछि पिचाइ थप अध्ययनका लागि अमेरिका प्रवेश गरेका थिए। उनले अमेरिकामा पनि त्यहाँको सबैभन्दा राम्रोमा गनिने स्ट्यानफोर्ड विश्वविद्यालयबाट छात्रवृत्ति प्राप्त गरे। तत्पश्चात् उनले पेन्सलभेनिया विश्वविद्यालयबाट एमबिए गरेका थिए। अमेरिका प्रवेशको सुरुवाती दिन उनका लागि निकै कठिन थियो। बाबुले उनको लागि अमेरिकाको टिकट किन्न ठूलै कसरत गर्नुपरेको थियो।

उनलाई स्ट्यानफोर्डमै पिएचडी गर्ने अवसर दिइए पनि उनले त्यसलाई अस्वीकार गर्दै त्यहाँबाट बाहिरिएका थिए। उनले सन् २००२ मा एमबिए सकिएपश्चात् केही समय म्याकिन्से नामक कम्पनीमा कन्सल्ट्यान्टका रूपमा काम गरे। र, २००४ मा गुगलमा प्रवेश गरे।

गुगल प्रवेश गरेसँगै उनले गुगलले आफ्नै ब्राउजर बनाउनुपर्ने बताएका थिए। उनको यो प्रस्तावको सुरुमा गुगलभित्रै विरोध गरिएको थियो। विशेषगरी तत्कालीन कार्यकारी प्रमुख एरिक स्मिड्ट यसको विपक्षमा थिए। तर, पिचाइले गुगलका संस्थापकहरूलाई नै आफ्नो योजनामा सहमत गराउन सफल भए। अन्ततः गुगलले २००८ मा आफ्नै ब्राउजर सार्वजनिक गर्योन। गुगल विश्वभर कम्प्युटर र मोबाइलमा सर्वाधिक प्रयोग गरिने ब्राउजर हो। जसले बजारको २५ प्रतिशत हिस्सा ओगटेको छ।

यस्तै गुगलको अपरेटिङ सिस्टमको विकासमा पनि उनले नेतृत्व गरेका थिए। जसले डाटालाई ल्यापटमा नभई क्लाउडमा स्टोर गर्छ। यो सिस्टम गुगलको क्रोमबुम (ल्यापटप) प्रयोग भएको छ। विज्ञहरूले गुगल क्रोमबुकका बिक्री पनि २०१५ मा २७ प्रतिशतले बढ्ने आँकलन गरेका छन्। यो खासगरी शैक्षिक क्षेत्रमा निकै प्रख्यात छ।

गुगलको जिमेल, गुगल ड्राइभ र गुगल म्यापको विकासमा नेतृत्व गरेसँगै उनलाई २०१३ मा मोबाइलको अपरेटिङ सिस्टम एन्ड्रोइड हेर्ने जिम्मा दिइएको थियो। एन्ड्रोइड सिस्टमको विकास गरेका एन्डी रुबिनलाई विस्थापित गर्दै उनले एन्ड्रोइड सिस्टमको नेतृत्व गर्दै त्यसलाई छुट्टै उचाइमा पुर्याबएका छन्। सुरुमा मोबाइल अपरेटिङ सिस्टमका रूपमा विकास गरिएको एन्ड्रोइड हाल स्मार्ट घडी, टिभी र गाडीमा पनि प्रयोग गर्न सकिने भएको छ।

पिचाइले गुगलको विकासमा पुर्याभएको योगदान र त्यसलाई दिलाएको सफलताका कारण नै उनलाई प्रमुखको पद दिइएको हो। उनको यो नियुक्ति टेक्नोलोजीको बजारमा भारतीयहरूको वर्चस्व बढ्दै गएकोतर्फ संकेत पनि हो । गत वर्षमात्रै भारतकै सत्या नाडेला माइक्रोसफ्टको प्रमुख कार्यकारी नियुक्त गरिएका थिए।

उनले भारतदेखिकै आफ्नी प्रेमिका अञ्जली पिचाइसँग विवाह गरे। उनीहरूका एक छोरा र एक छोरी छन्। पिचाइका केही रमाइला तथ्य छन्। जब उनी केही गहन सोचमा हुन्छन् उनी हिँड्छन्। सहकर्मीका अनुसार उनी कहिलेकाहीँ मिटिङको बीचमा नै उठेर हिँड्छन् र समस्याको समाधान पत्ता लागेपछि मात्र फर्कन्छन्। त्यस्तै, उनको स्मरणशक्ति असाधारण छ।

सन् २०११ मा उनलाई ट्वीटरले कामको प्रस्ताव राखेको थियो। तर, उनले गुगललाई नै रोजे। यस्तै सन् २०१४ मा पनि माइक्रोसफ्टले उनलाई सिइओको पद अफर गरेको थियो। गुगलले उनलाई सिलिकन भ्याली नछोड्न वर्षको पाँच करोड दिने निर्णय गरेको थियो।

(एजेन्सीको सहयोगमा)

 

Leave a Comment

Sports

नेपाललाई विमलाको कांस्य

इन्चोन, Oct 06 - असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी विजयको उत्सवमा मुलुक डुबिरहेका बेला इन्चोन एसियाडमा भने नेपालको प्रदर्शन More »

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी

पाकिस्तानले आत्मघाति गोल गरेपछिसाफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी काठमाडौं- पाकिस्तानले आत्मघाति गोल गरेपछि काठमाडौंमा जारी साफ च्याम्पियनसिपको दोस्रो दिनको खेलमा भारत विजयी भएको छ। आइतबार दशरथ रंगशालामा भएको More »